Wednesday, January 6, 2016

स्वतन्त्रता



म स्वतन्त्र छु
हामी स्वतन्त्र छौं
हामीले पढ्दै आएका वाक्य हुन् यी
जन्मै देखि
वरिपरि पर्खाल लगाएर
चिडियाखानामा राखेको बाघको भन्दा
धेरै छैन हाम्रो स्वतन्त्रता
पाखामा एउटा किल्लो गाडेर बाँधेर राखेको गाईको भन्दा
धेरै छैन हाम्रो स्वतन्त्रता
जहाँसम्म डोरीको अर्धव्यास पुग्छ
उसको स्वतन्त्रता बस् त्यहाँसम्म छ
हामी स्वतन्त्र छौं
जतीसुकै  भाषण दिए पनि
जतीसुकै  खोके पनि
हाम्रो स्वतन्त्रता निश्चित सिमाले घेरिएको छ
कहिले देशको सिमाले
कहिले धर्मको
त कहिले समाज र संस्कृतिको  सिमाले
बाँधेको छ हामीलाई
कहिँ कानुनका धाराले बन्दी बनाएको छ
त कतै भावानाका पर्खालले छेकेको छ
जतिसुकै उड्न खोजे पनि
हावाको अस्तित्वसंगै उडान जोडिएको त्यो चराको स्वतन्त्रता जस्तै
फरक यति मात्रै हो कि
कोहि चराको आकश खुम्चिएर पिंजडा बन्न पुग्छ
कोहि माछाको समुद्र एउटा एक्वारियम
यति मात्रै काहाँ हो र?
हाम्रो सोचाई, भावना र कल्पनामा पनि पर्खाल लागेको छ
हाम्रो कल्पनाको सिमाना हाम्रा ईन्दृयहरुले तोकिदिन्छन्
हाम्रो भावनाहरुलाई भयले रोकिदिन्छ
हाम्रो सोचाई हाम्रो समाज भन्दा माथि उठ्न सक्दैन
म जहिले मात्र म भएर सोच्न सक्छु
तिमी, उ भएर कहिले सोच्न सक्दिन
र पनि म घमण्डका साथ भन्छु
म स्वतन्त्र छु
हामी कहिले हाम्रो समाजको दायराभन्दा माथि उभिएर बोल्न सक्दैनौं
कुनै निर्णय लिन सक्दैनौ
र पनि गर्वका साथ भन्छौं
हामी स्वतन्त्र छौं
हाम्रो सोचाई एउटा शहरको आरसिसि घरको छतको
गमलामा कुँजिएर रहेको वर-पीपलको जराभन्दा ज्यादा छैन
एउटा फुटेको भकुन्डोको फुस्स भन्दा हाम्रो बोलीको वजन छैन
टपरीमा पिसाब गरेको परररर आवजभन्दा अर्थ छैन
र पनि म एउटा सानो धर्तीको, सानो देशको
सानो शहरको, सानो घरको सानो कोठामा बसेर
सानो सोच लेख्दै
गर्वका साथ  भन्छु
म स्वतन्त्र छु
म मुक्त छु ।।।

No comments:

Post a Comment