Thursday, August 13, 2015

चारो


चारो खोज्नु छ
भौतारिरहेछु यो सानो सहरको हावामा
यहाँको हावा हावा लाग्दैन 
धुँवा लाग्छ
तर के गर्नु बानि परिसकेको छ
मेरा यी जोर पँखेटामुनि चिसो बतास बगिरहेको छ
यसो ठाँउठाँउमा देखिने हरियालिले मन लोभ्याउँछ
बस्छु एउटा ठूलो रुखको टुप्पामा
जुन सहरको एकाए माझमा छ
हेर्छु वरिपरि मेरा तिखा आँखा घुमाउँदै
चारो खोज्नु छ
पेटले मागेपछि नङ्ग्रा त्यसै जुर्मुराउँछन्
आँखा त्यसै फर्फराउँछन्
खोजि निरन्तर सम्मकै
जीवन रहुन्जेल सम्मकै
मेरा साना कान तेर्साउँछु
निकै होहल्ला छ, जमात छ
कतै भोज छ क्यार
कसैलाई मोज छ क्यार
तर मलाई
चारो खोज्नु छ।

No comments:

Post a Comment